पवन प्रसाद साह
बिरगंज २९ गते ।
बिरगंज स्पोर्ट्स एकेडमी (BSA) र लायन्स क्लब अफ बीरगंज परिवारको संयुक्त आयोजनामा हुने ‘६औँ कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ मंसिर २० र २७ गते आदर्शनगरस्थित रंगशालामा आयोजना हुने भएको छ ।
५ ओभरको छोटो प्रारूपमा ६–६ खेलाडी सहभागी हुने यस प्रतियोगिता लिग र नकआउट दुवै चरणमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। बीरगंज तथा आसपासका बैंक, वित्तीय संस्था, बीमा कम्पनी, फर्मास्युटिकल्स, गाडी विक्रेता तथा उत्पादनमूलक उद्योगलगायतका क्षेत्रका २४ टोली यस वर्ष प्रतिस्पर्धामा उत्रनेछन्। केही टोलीले दर्ता प्रक्रिया पूरा गरिसकेको आयोजकको भनाइ छ ।
लायन्स क्लब अफ बीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार सहभागी हुने इच्छुक टोलीको संख्या २४ भन्दा बढी पुगेको छ, जसले कर्पोरेट क्षेत्रभित्र प्रतियोगिताप्रतिको बढ्दो उत्साहको संकेत गर्छ ।
प्रतियोगिताले कर्पोरेट क्षेत्रबीच आपसी सम्बन्ध सुदृढ बनाउने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने र बीरगंजमा कर्पोरेट खेलकुद संस्कृतिको विस्तार गर्ने उद्देश्य लिएको बीरगंज स्पोर्ट्स एकेडमीले जनाएको छ। यसअघि २०१३, २०१४, २०१५, २०१८ र २०२४ का पाँच संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। अघिल्लो संस्करणमा ‘अग्नि ग्रुप’ विजेता बनेको एकेडमीका सचिव नरेश रौनियारले स्मरण गरे ।
करीब ४ लाख रुपैयाँ बजेटमा आयोजना हुने प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफीसहित सम्मान गरिनेछ। साथै उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर र प्लेयर अफ द टुर्नामेन्टका लागि विशेष अवार्डको व्यवस्था गरिएको छ ।
यसै अवसरमा सिप्रदी बीरगंजका ब्रान्च म्यानेजर सन्दीप गुप्ताले कर्पोरेट खेलकुदले संस्थागत सहकार्य र कर्मचारीबीचको आपसी आत्मीयता बढाउन मद्दत गर्ने उल्लेख गर्दै बीरगंजलाई कर्पोरेट स्पोर्ट्सको आकर्षक गन्तव्य बनाउन प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरे।


