जनकपुरधाम, कार्तिक २९ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र विभिन्न निकायको आर्थिक सहयोगमा जनकपुरधाममा कात्तिक २९ गते वातावरणीय अधिकार संरक्षण विषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले मानिसकै गतिविधिबाट हुने प्रदूषण रोक्न जनचेतनामूलक कार्यक्रमको आवश्यकता औँल्याउँदै वृक्षरोपण र स्वच्छ जनकपुरधाम निर्माणमा पालिकाको सक्रियता रहेको जानकारी गराउनुभयो।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले पर्यावरणीय अधिकार नागरिकको मानव अधिकार भएको उल्लेख गर्दै गैरसरकारी संस्था र विशेषज्ञको सहयोगमा यस हकको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने हक संविधानले सुनिश्चित गरेको भन्दै सरकार र सरोकारवाला निकायले यसमा ध्यान दिनुपर्ने बताए।
वातावरण विज्ञ अजित श्रीवास्तवले जनकपुरधाममा प्रदूषणको अवस्था बढ्दो रहेको र फोहोर व्यवस्थापन र वृक्षरोपणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो। वन तथा वातावरण मन्त्रालयका राम युगल साहले मन्त्रालयले वातावरण क्षेत्रमा अनुसन्धान र समन्वय कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा महिला अधिकारी, विभिन्न संघसंस्था र स्थानीय वडा सदस्यहरूले फोहोर व्यवस्थापन, ध्वनि प्रदूषण, वायु प्रदूषण र चुरे संरक्षणमा प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाव दिएका थिए।
कार्यक्रमको संचालन कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतिले गर्नु भएको थियो।

