काठमाडौं, कार्तिक ३० गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई पार्टी नेतृत्वले बेवास्ता गरेमा आफू महामन्त्री पदबाट राजीनामा दिन तैयार रहेको चेतावनी दिएका छन्।
आइतबार सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवालाई भेट्न हात्तीसारस्थित निवास पुगेका शर्माले डेढ घण्टा लामो भेटमा महाधिवेशन प्रतिनिधिको बहुमतले गरेको मागलाई हल्का रूपमा लिन नहुने स्पष्ट सन्देश दिएका हुन्।
५४ प्रतिशत प्रतिनिधिको लिखित माग विधानअनुसार बाध्यकारी हुने उल्लेख गर्दै शर्माले त्यस विपरीत निर्णय भए आफू पदमा रहन नसक्ने बताएका छन्। उनले आफ्नो धारणा पार्टीका केही वरिष्ठ नेताहरूसँग पनि साझा गरेका छन्।
एक नेताका अनुसार शर्मा यसो भन्दै उद्धृत भएः
“विशेष महाधिवेशनको माग स्पष्ट रूपमा विधानसंगत छ। त्यसलाई बेवास्ता गरेर अर्को निर्णय गरियो भने म सो दिनदेखि नै महामन्त्रीबाट बाहिरिन्छु।”
कांग्रेस विधानले आवश्यकता परेमा केन्द्रीय समितिले वा ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ। सोहि व्यवस्था अनुसार २८ असोजमा ५४ प्रतिशत प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित माग पेस गरिसकेका छन् । विधानअनुसार तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने भएकाले पुस २८ अन्तिम मिति मानिनेछ ।

