जनकपुरधाम, मंसिर १ गते ।
मधेश प्रदेशमा असंवैधानिक प्रक्रियामार्फत मुख्यमन्त्री नियुक्ति भएको आरोपसहित मधेश भवन अगाडि ८औं दिनदेखि शान्तिपूर्ण प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई तत्काल बर्खास्त गर्न माग गर्दै सडकमा निरन्तर उपस्थित जनाइरहेका छन्।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कार्तिक २४ गते विहान ५ बजे सिन्धुली सीमाको पानस बार रेस्टुरेन्टमा संवैधानिक विधि विपरीत सपथ गराएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले यसलाई मधेश प्रदेशको अस्मितामाथिको प्रहार भएको बताएका छन्। एमालेको सिफारिसमा भएको उक्त सपथलाई उनीहरूले पूर्ण रूपमा अस्वीकृत गरेका छन् ।

यसैबीच, ७४ जना प्रदेशसभा सदस्यहरूले अबैध रूपमा नियुक्त मुख्यमन्त्री यादवविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट दर्तासँगै नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीलगायत सात राजनीतिक दलका नेता–कार्यकर्ता र ‘संघीयता रक्षक’ समूह लगातार सडकमा उत्रिरहेका छन्।
प्रदर्शनकारीहरूको भनाइमा, “संवैधानिक नैतिकता र सुशासन रक्षा” नै आन्दोलनको मूल उद्देश्य हो।

