सर्लाही, मंसिर १ गते ।
सर्लाहीको लालबन्दीमा प्रहरीले रातिदेखि नै निगरानी बढाएपछि सोमबार बिहान ३८ किलो ८९० ग्राम गाँजा बरामद गर्न सफल भएको छ। चुरे क्षेत्रबाट भित्री बाटो हुँदै लागुऔषध ल्याइँदै गरेको जानकारी पाएपछि प्रहरीले रणनीतिक रूपमा घेराबन्दी गरेको थियो।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा तैनाथ गरिएको टोलीले बिहान करिब ५ बजे लालबन्दी–६ को शिव मन्दिर नजिकै ओसारपसार भइरहेको अवस्थामा गाँजा फेला पारेको हो।

घटनास्थलबाट हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ। उनी अटोमा सवार रहेको र सोही अटोबाट एक पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट पनि छ पोका गाँजा बरामद भएको छ। मोटरसाइकलमा रहेका व्यक्ति भने प्रहरी कारबाहीको क्रममा फरार भएका छन्।
प्रहरीका अनुसार फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको छ र बरामद सामानको थप अनुसन्धान भइरहेको छ।

