गाैशाला, मंसिर ४ गते ।
त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बर्दिबासको औपचारिक उद्घाटन सम्पन्न भएको छ । कार्यक्रम कार्यालय प्रमुख सह–प्राध्यापक रामहित यादवको अध्यक्षतामा तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालको प्रमुख अतिथिमा सम्पन्न भयो ।
उद्घाटन समारोहमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्री, त्रि.वि.का परीक्षा नियन्त्त्रक प्रा. डा. लक्ष्मण पौडेल विशिष्ट अतिथिको रूपमा सहभागी हुनुका साथै मधेश प्रदेशका विभिन्न सार्वजनिक, निजी तथा सामुदायिक क्याम्पसका क्याम्पस प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले परीक्षा प्रणालीलाई समयानुकूल, पारदर्शी र प्रविधिमैत्री बनाउनेतर्फ नयाँ कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बर्दिवासमा कार्यालय सञ्चालनमा आएसँगै प्रदेशभित्रका क्याम्पस तथा विद्यार्थीहरूले परीक्षा व्यवस्थापनसम्बन्धी सेवाहरू सहज र छरितो रूपमा पाउने अपेक्षा गरिएको छ ।






