अजय मिश्र
कृष्णनगर, मंसिर ९ गते ।
कपिलवस्तु जिल्ला, कृष्णनगरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज कृष्णनगरको लिंकगेटमा दीप प्रज्वलन गर्दै भव्य रूपमा औपचारिक उद्घाटन गरिएको छ।
“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारासहित आयोजना गरिएको उक्त अभियानको नेतृत्व कृष्णनगर नगरपालिकाले गरेको हो। कार्यक्रममा आशीष सामाजिक सेवा नेपाल, आफन्त नेपाल, पीआरसी नेपाल, साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्य रहेको थियो।
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाका उपप्रमुख आरती देवी चौधरीले गर्दै दीप प्रज्वलन द्वारा अभियानको उद्घाटन गरिन्। कार्यक्रममा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्याय, विविध संघ–संस्थाका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थिति थियो।
स्वागत मन्तव्य स्वास्थ्यकर्मी पार्वती शर्माले प्रस्तुत गरे। कार्यक्रमका वक्ताहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए। इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले यो अभियान सबैको साझा जिम्मेवारी भएको बताउँदै प्रभावकारी सहयोगको आग्रह गरे।
अभियानमा आफन्त नेपालका प्रदेश प्रमुख केशर विश्वकर्मा, पीआरसीका जिल्ला संयोजक दिनेश तिमिल्सिना, वडाध्यक्ष कृष्णकुमार गुप्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरी, ट्राफिक प्रहरी वरिष्ठ नायब उपरीक्षक लिला कुँवर, कविराज नागेश्वर मिश्रसहित पत्रकार, समाजसेवी, जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्यायले गर्नु भयो ।

