हेटौंडा, मंसिर १२ गते ।
हेटौँडामा सार्वजनिक (राजमार्ग) जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई नेपाल आयल निगममार्फत इन्धन आपूर्ति रोक्न सडक डिभिजन कार्यालय हेटौँडाले पत्राचार गरेको छ। महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ विस्तारको तयारी तीव्र बन्दै गएपछि डिभिजनले हेटौँडा–१० मा रहेको बलरामदास पेट्रोल पम्प र वडा नम्बर ४ को ओम आयललाई तत्काल स्थानान्तरण हुन निर्देश गरेको हो।
सडक डिभिजनका अनुसार दुवै पम्प राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल–डिजेल तथा ग्यास फिलिङ स्टेशन स्थापना सम्बन्धी मापदण्ड–२०७८ अनुसार दर्ता तथा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेकाले इन्धन आपूर्ति रोक्न आयल निगमलाई अनुरोध गरिएको हो। सार्वजनिक जग्गामा बनेका संरचना तथा सडक सीमा भित्र पर्ने अवरोधका कारण राजमार्ग विस्तार प्रभावित भइरहेको डिभिजनले जनाएको छ।
डिभिजनले हेटौँडाको मुख्य बजार क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका क्रममा सार्वजनिक जग्गामा बनेका अन्य संरचनाहरूको समेत नक्सांकन गरिरहेको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएको प्रमाणित भएमा क्रमशः कारबाही अघि बढाइने जनाइएको छ। यसै क्रममा मकवानपुर उद्योग वाणिज्य संघ, हेटौँडा अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपास रहेका संरचनालाई पनि सडक सीमा भित्र रहेको भन्दै हटाउन पत्राचार भइसकेको छ।
सडक सीमाभित्र रहेका विद्युत् मिटरबक्स र अन्य उपकरण स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै आवश्यक व्यवस्थापन गर्न सुरु गरिसकेको छ। सडक डिभिजनले गत ५ मंसिरमा जारी गरेको १५ दिने अल्टिमेटम अनुसार १९ मंसिरसम्म राजमार्गको केन्द्र रेखादेखि २५–२५ गज भित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउनुपर्नेछ। रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका क्षेत्रमा सडक सीमा खाली गर्ने कार्य चरणबद्ध रूपमा अगाडि बढाइने भनिएको छ।
सडक विस्तार सहज बनाउन २० मंसिरदेखि हेटौँडाको मुख्य बजार क्षेत्रमा पर्ने दुवै राजमार्गमार्फत सवारीसाधन सञ्चालनसमेत रोक्ने तयारी गरिएको छ। डिभिजनका अनुसार संरचना हटाउने र सडक विस्तारका कामलाई प्रभावित हुन नदिन अस्थायी रूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

