कोहलपुर (बाँके), मंसिर १३ गते ।
प्याब्सन कोहलपुर नगर समितिद्वारा आयोजित तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ मंसिर १७ गतेदेखि सुरु हुने भएको छ। तिनदिने प्रतियोगिता कोहलपुर–११ स्थित खुला मैदानमा मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले प्रतियोगिताको तयारी पूरा भएको र विद्यार्थीको प्रतिभा पहिचान तथा हौसला अभिवृद्धिका लागि प्रतियोगिता निरन्तरता दिइएको बताए ।
उनका अनुसार प्रतियोगिता आधारभूतदेखि माध्यमिक तहसम्म सञ्चालन हुनेछ। माध्यमिक तहका विद्यार्थीहरू १००, २००, ४००, ८००, १५०० र ३००० मिटरका एथ्लेटिक्स दौड तथा छात्र–छात्रा भलिबलमा प्रतिस्पर्धा गर्नेछन्। आधारभूत तहका १५ वर्षमुनिका विद्यार्थीहरूले एथ्लेटिक्सका विभिन्न दूरीका दौड तथा फुटसलमा सहभागी हुनेछन्। नर्सरीदेखि कक्षा ३ सम्मका १० वर्षमुनिका बालबालिकाले १०० मिटर दौडसँगै स्पुन–मार्बल रेस र म्युजिकल चियरमा प्रतिस्पर्धा गर्ने कार्यक्रम राखिएको छ। यसपटकको संस्करणमा पहिलोपटक भलिबल र फुटसल नयाँ खेलका रूपमा समावेश गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा करिब एक हजार आठ सय अठ्तीस विद्यार्थीको सहभागिता रहनेछ। माध्यमिक तहबाट ८७४ जना, आधारभूत तहबाट ९६० जना र नर्सरी–३ तहबाट १२० जना सहभागी हुनेछन्। कोहलपुरमा आवद्ध २८ निजी विद्यालयमध्ये १९ माध्यमिक र ९ आधारभूत विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
विद्यार्थीलाई पुस्तक सीमित शिक्षाभन्दा बढी अवसर दिनु आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष केसीले अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको क्षमता उजागर गर्न सकिने विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा प्रतियोगिताका फिल्ड मार्सल दिनेश सिग्देल, उपाध्यक्ष समीर घर्ती, सचिवालय सदस्य हेमकुमार रावतलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

