गाैशाला, मंसिर १३ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका–८ स्थित शान्ति सामुदायिक वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएको घर शुक्रबार वन प्रशासनले हटाएको छ । टुटेश्वरनाथ सव–डिभिजन वन कार्यालय र सशस्त्र वन सुरक्षा शाखा माइस्थानको संयुक्त टोलीले वन क्षेत्र अतिक्रमण गरेर बनाइएको सो संरचना हटाई वन भू–भागलाई अतिक्रमणमुक्त बनाएको हो ।
डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख अजय मिश्रका अनुसार सामुदायिक वनकै अध्यक्ष युगल किशोर महतोले वनभूमि अतिक्रमण गरी घर निर्माण गरेको प्रारम्भिक सूचनापछि घटनाबारे स्पष्टिकरण लिन तयारी गरिएको छ। “हामीले सव–डिभिजनलाई आवश्यक प्रक्रिया अघि बढाई स्पष्टिकरण सोध्न निर्देशन दिएका छौँ,” प्रमुख मिश्रले बताए।
टुटेश्वरनाथ सव–डिभिजन वन कार्यालयका वन अधिकृत राकेश विकको नेतृत्वमा गएको टोलीले अनधिकृत संरचना भत्काउने कार्य सम्पन्न गरेको थियो। वन क्षेत्रमा भइरहेका अवैध क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन जारी राखिने वन कार्यालयले जनाएको छ ।
यस्तै सोही टोलीले बर्दिवास नगरपालिका–४ को टुटेश्वर गाउँमा छापामारी साल जातका चौकट पनि बरामद गरेको छ। वनका मूल्यवान काठ तथा सामग्रीको गैरकानुनी कारोबार रोक्नाे प्रमुख प्राथमिकतामा रहेको कार्यालयले बताएको छ।

