जनकपुरधाम, मंसिर १५ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्णयविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी कञ्चन बिच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न प्रदेश सभामा औपचारिक रूपमा पत्र पठाएको छ।
समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी बिच्छा कात्तिक २४ गते मुख्यमन्त्री सरोजकुमार यादवको मन्त्रिपरिषद्मा विना विभागीय मन्त्री का रूपमा प्रवेश गरेकी थिइन्। त्यसपछि मंसिर ८ गते उनी वन तथा वातावरण मन्त्री को जिम्मेवारीमा नियुक्त भएकी थिइन् ।
पार्टीले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। तर बिच्छाले निर्देशन नमानेपछि राप्रपाले आन्तरिक प्रक्रिया अघि बढाउँदै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि प्रदेश सभामा पत्राचार गरेको हो।
राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले हस्ताक्षर गरेको पत्र आइतबार प्रदेश सभा सचिवालयमा दर्ता भएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख बबिता राउत इशरले पत्र प्राप्त भइसकेको पुष्टि गर्दै— आवश्यक छलफलपछि प्रदेशसभाबाट सूचना प्रकाशन गरिने बताएकी छन् ।

