गाैशनला, मंसिर १५ गते ।
“प्रविधिको सही प्रयोग गरौँ : लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने संदेशसहित मटिहानी नगरपालिकामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०२५’ औपचारिक रूपमा थालनी गरिएको छ। उद्घाटनका दिन नगरमा आयोजित जनचेतना र्याली र सडक नाटक प्रदर्शनले अभियानको वातावरण झनै जोशिलो बनेको छ।
नगर प्रमुख हरि प्रसाद मण्डलले कार्यक्रम उद्घाटन गर्दै लैंगिक हिंसा कुनै पनि सभ्य समाजका लागि कलङ्क भएको बताए। प्रविधिको दुरुपयोगका कारण हिंसाका नयाँ रूप बढ्दै गएको उल्लेख गर्दै उनले समुदायस्तरमै सचेतना फैलाउनु सबैको दायित्व भएको धारणा राखे।

विश्वव्यापी रूपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानअन्तर्गत मटिहानी नगरपालिकाले निरन्तर जनजागरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रतौली युवा क्लब, WOREC नेपाल र ROYM Nepal को संयुक्त समन्वयमा र नगरपालिकाको आयोजनामा जनचेतना र्याली र सडक नाटक प्रस्तुत गरिएको थियो । श्री राम माध्यमिक विद्यालयबाट सुरु भएको र्याली नगरका विभिन्न सडक हुँदै नगरपालिका–७ कार्यालयअगाडि कोणसभासहित सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दासले गरेकी थिइन्। कार्यक्रममा विभिन्न वडाका अध्यक्ष र सदस्य, वडा सचिव, प्रहरीका प्रतिनिधि, स्थानीय शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता थियो।
अभियानले लैंगिक हिंसा विरुद्ध सामूहिक आवाज बुलन्द गर्दै समानता, सम्मान र सुरक्षित वातावरण निर्माणका लागि स्थानीयवासीलाई थप सक्रिय बनाउन मद्दत गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् ।


