जनकपुरधाम, मंसिर १६ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बुधबार प्रदेशसभा बैठकलगत्तै मत प्रक्रियामा जाने भएका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनी मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मतदानको व्यवस्थाबारे जानकारी दिएका हुन्।
यादवले सर्वोच्च अदालतको आदेशको आधिकारिक पत्र दिउँसो ३ बजे मात्र प्राप्त भएकाले बुधबार दिउँसो २ बजे नै विश्वासको मतका लागि प्रस्ताव अघि बढाइएको बताए। उनले आवश्यक प्रक्रिया पूरा हुँदै प्रदेशसभा सचिवालयमा पत्र पठाइसकिएको पनि स्पष्ट पारे।
“विश्वासको मत ल्याउनेमा म पूर्ण विश्वस्त छु। मधेशमा एमालेले बनाएका सबै गठबन्धन र समर्थक दलहरूले साथ दिनेछन्,” यादवले भने ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। अन्य दलहरू बहुमतको दाबी गर्दै अघि बढेका थिए तर विवाद बढेपछि भण्डारी पदमुक्त भइन्। सोही विषयमा ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जसमा अदालतले केही दिनअघि दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

