गाैशाला, मंसिर १६ गते ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले कोशी प्रदेशमा काठ कटान तथा संकलनका नाममा भइरहेको अनियमितता प्रति चिन्ता व्यक्त गर्दै सरकारसँग औपचारिक छानबिन गर्ने माग गरेको छ।
महासंघका अनुसार नेपाल वन निगम लिमिटेडको विराटनगर शाखाले सुनसरीका पाँचकन्या, विष्णुपादुका, नडाहा लगायतका क्षेत्रअन्तर्गत रहेका राष्ट्रिय वनहरूमा गोलिया काठ कटान, संकलन र ग्रेडिङ गर्दा निर्धारित नियम र मापदण्ड पालन नगरेको आरोप छ। यस्तो गतिविधिले राजस्व छली भएको र राज्यलाई आर्थिक हानी पुगेको महासंघले स्पष्ट पारेको छ।
महासंघले नियम विपरीत काठ कटान तथा संकलन कार्य गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने र काममा देखिएको लापरबाही तत्काल रोक्नुपर्ने माग गरेको छ।
हालै कोशी प्रदेशमा नेपाल वन निगमले अनियमित रूपमा काठ कटान गरेकोबारे समाचार सार्वजनिक भएपछि, महासंघले घटना सत्य–तथ्यसहित छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सरकारसमक्ष विज्ञप्ति जारी गरेको हो।


