गाैशाला, मंसिर १८ गते ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन गहन छलफलमा जुटेको छ। नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू आज मध्यान्नदेखि नै निरन्तर वार्तामा छन्।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री तथा एमाले नेता सरोजकुमार यादवले बुधबार विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले धारा १६८(२) अनुसार शुक्रबार साँझ ५ बजेसम्म नयाँ दाबी पेश गर्न आह्वान गरेका छन्।
सात दल मिलेर अगाडि बढ्ने सहमतिको प्रयास भइरहेका बेला कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका पूर्वमुख्यमन्त्री सतिश सिंह दुवैले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिरहेका छन्। दुवै दल अडिएका भए पनि सभामुख पद रिक्त भएकाले मुख्यमन्त्री र सभामुख दुवै पदलाई एउटै ‘प्याकेज’मा टुंग्याउने पहल भइरहेको छ।
छलफलमा संलग्न एक सांसदका अनुसार सात दलबीच मन्त्रालय वितरणसहित एकैपटक सहमति जुटाउने प्रयास भइरहेको छ।
गठबन्धनभित्र कृष्ण यादवको पक्ष बलियो बन्दै गएको छ। सतिश सिंह नेतृत्वमा रहेको सरकार विगतमा विश्वासको मत नपाएको तथा लोसपा गठबन्धनको छैटौँ ठूलो दल भएको तर्क उठाइएको छ। यसैबीच, निवर्तमान मुख्यमन्त्री सरोज यादवले जोसुकैले नेतृत्व गरे पनि विश्वासको मत दिने घोषणा गरेपछि कांग्रेस नेतृत्वको सम्भावना थप बढेको छ।
गठबन्धनको दोस्रो ठूलो दल जसपा भने सभामुख पद पाउने रणनीतिमा छ। जसपाका एक सांसदले पार्टीलाई मुख्यमन्त्रीको दाबी नरहे पनि सभामुख आवश्यक रहेको बताएका छन्।
यससँगै जनमत सहितका अन्य दलले महत्वपूर्ण मन्त्रालयहरूको समानुपातिक भागबन्डा गर्नुपर्ने धारणा राखेका छन्।
मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन्। बहुमतका लागि ५४ सदस्य आवश्यक छन् । जसमा एमालेको २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीको १–१ सिट छ । राप्रपा नेपाल, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको १–१ सिट छ ।

