गाैशाला, मंसिर १८ गते ।
महाेत्तरीकाे रामगोपालपुर बहुमुखी क्याम्पसले तेस्रो क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पसको प्रगतिमा विद्यार्थीसँगै स्थानीय समुदायको निरन्तर समर्थनलाई मुख्य कारण मान्दै क्याम्पसले वार्षिक उपलब्धि, योजनाहरू तथा भावी कार्यक्रमहरू सभामा प्रस्तुत गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवले क्याम्पसको शिक्षात्मक उन्नतिका लागि सबै तहबाट सहयोग आवश्यक रहेको बताउँदै उच्च शिक्षाले स्थानीयस्तरमै अवसर सिर्जना गरिरहेको उल्लेख गरे । उनले क्याम्पसको शैक्षिक गुणस्तर बढाउन पूर्वाधार, प्रविधि र जनशक्ति विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षक तथा कर्मचारीहरूले वार्षिक प्रतिवेदनहरू प्रस्तुत गरे। सोही अवसरमा क्याम्पसले शैक्षिक उत्कृष्टता, सहपाठ्य गतिविधि र अनुशासनका आधारमा विद्यार्थी तथा कर्मचारीलाई सम्मान पनि प्रदान गर्यो।
नगर प्रमुख राम दुलार साह, अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा आगामी वर्षका लागि नयाँ शैक्षिक योजना, भवन विस्तार तथा कार्यक्रम विविधिकरणसम्बन्धी प्रस्तावहरू पनि टेबुल गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस सभाले शैक्षिक गुणस्तर वृद्धि, सहजीकरण सेवाको विस्तार र सामुदायिक सहभागितालाई अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता जाहेर गर्दै समापन गरिएको थियो ।

