सर्लाही, मंसिर २० गते ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले आगामी १५औँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन– दुवैको तयारी समानान्तर रूपमा अघि बढाइरहेको बताएका छन्।
नेपाल प्रेस युनियन सर्लाहीले मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले कतिपय नेताहरूले महाधिवेशनमा बढी समय खर्चिँदा निर्वाचन तयारी कमजोर हुने आशंका व्यक्त गरे पनि पार्टीले दुवै प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाइरहेको स्पष्ट पारे।
उनका अनुसार, महाधिवेशन गर्ने–नगर्ने बहसले केही समय बर्बाद भए पनि अहिले महाधिवेशन छिटो सम्पन्न गरेर निर्वाचनमा प्रवेश गर्ने पार्टी निर्णय भइसकेकाले सबै नेता–कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरिएको छ। थापाले भने, “फागुन २१ को उपनिर्वाचन संविधानको रक्षा गर्ने महत्वपूर्ण मोड हो। यसका लागि पार्टी पूर्ण रूपमा प्रतिबद्ध छ।”
त्यस्तै, उनले जेन–जेड प्रदर्शनपछि फरार रहेका कैदी–बन्दी र लुटिएका हतियारहरूले सुरक्षामा चुनौती सिर्जना गर्न सक्ने भन्दै यसबारे सरकारलाई जानकारी गराइसकेको बताए। “सरकारले समयमै यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नैपर्छ,” थापाले जोड दिए।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा पनि सबै दल र समूहलाई चुनावमा सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने माग आफूले उठाएको उनले जानकारी दिए।
आफू सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक संकेत पनि थापाले यसै अवसरमा गरे। “नयाँ सोच र नयाँ सन्देशसहित सभापतिमा उम्मेदवारी दिन्छु,” उनले भने, “जल्दै देशव्यापी दौडाहामा निस्कनेछु।” आगामी निर्वाचनमा पनि आफू काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने उनले पुनः स्पष्ट पार्नुभयो।

