राजेश सिंह
गौशाला, मंसिर २० गते ।
महोत्तरीको औरही नगरपालिका–७ भोइलमा रहेको विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार श्री राम विलास चन्देश्वर यादव जनता माध्यमिक विद्यालयको प्रांगणमा एक कार्यक्रमकाे आयोजना गरि ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गगनदेव यादवले सहकारी आन्दोलनले ग्रामीण आर्थिक विकासमा पुर्याइरहेको योगदानबारे चर्चा गरे। उनले विषहारामाई सहकारीले थोरै पूँजीबाट सुरु भए पनि छोटो अवधिमा उल्लेख्य व्यवसायिक विस्तार गर्न सफल भएको भन्दै संस्थालाई आगामी वर्षमा डिजिटल सेवा विस्तार, महिला र युवालाई लक्षित वित्तीय साक्षरता कार्यक्रम तथा कृषिमा आधारित ऋण प्रवाहलाई अझ सुदृढ बनाउन सुझाव दिए ।

वार्षिक साधारण सभामा संस्थाकी अध्यक्ष गणिता यादवले सम्बाेधन गर्दै सहकारीको स्थापना उद्देश्य, अहिलेसम्मको यात्रा, सामना गरिएका चुनौतीहरू तथा आगामी वर्षका लागि तय गरिएका योजना–कार्यक्रमहरूबारे विस्तृत रूपमा जानकारी गराइन्। अध्यक्ष यादवले सहकारीलाई अझ मजबुत र दिगो बनाउन सदस्यहरूको निरन्तर सहभागिता, पारदर्शी वित्तीय व्यवस्थापन तथा ग्रामीण आर्थिक सशक्तिकरणमा केन्द्रित कार्यक्रमकाे आवश्यकता औँल्याइन् ।
विशिष्ट अतिथिमा रहेका जिल्ला सहकारी संघ महोत्तरीका उपाध्यक्ष लिलामणि आचार्यले सहकारीलाई व्यवस्थित, पारदर्शी र प्रतिवद्ध बनाउन कानुनी तथा प्रशासनिक पक्षलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए। स्थानीय तहका जनप्रतिनिधिहरू– औरही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम आश्रय यादव र वडा नं. ७ का वडाध्यक्ष जितेन्द्र यादवले सहकारीले गाउँस्तरमा रोजगारी सिर्जना, सीप विकास र आर्थिक पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
सभामा जसपा नेपालका नेता राजनारायण यादव, एमाले नेता सत्यनारायण यादव, वडा नं. ८ का पूर्व वडाध्यक्ष नवल चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादव, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य नगिना शाह लगायतले सहकारीका गतिविविधि, रणनीति तथा सेवा गुणस्तरका विषयमा आफ्ना धारणा व्यक्त गरे ।
२०७१ माघ १२ गते २५ जना सदस्य र २ हजार ५ सय रुपैयाँ प्रारम्भिक पूँजीबाट सुरु गरिएको सहकारी अहिले जिल्लाका मजबूत सहकारीमध्ये एक बन्न सफल भएको सचिव राम नारायण शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बताए । उनको अनुसार हाल सहकारीमा २ हजार १ सय ३४ जना सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी ८३ लाख २३ हजार ९ सय रुपैयाँ पुगेको छ भने सदस्यहरूको बचत रकम ११ करोड ५९ लाख २१ हजार ५ सय ८ रुपैयाँ पुगेको छ। सहकारीले ११ करोड १२ लाख ६४ हजार ५ सय ३५ रुपैयाँ ऋण लगानी गरेको छ। यसरी सहकारीको कुल कारोबार १५ करोड ८ लाख ९५ हजार १ सय ३२ रुपैयाँ पुगेको उनले जानकारी दिए ।
सचिव शाहका अनुसार आर्थिक वर्ष २०८२ असार मसान्तसम्म संस्थाले १७ लाख २७ हजार २ सय २४ रुपैयाँ नाफा आर्जन गरेको छ। उनले नियमित बचत विस्तार, समयमै ऋण असुली, व्यवसायिक अनुगमन र सदस्य–सहभागिताको विस्तार आर्थिक प्रगतिका प्रमुख कारण भएको बताए । वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ता, समयमै ऋण तिर्ने सदस्य तथा सहकारी प्रवर्द्धनमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको समापनअन्त्यमा अध्यक्ष यादवले सबै सहभागी, अतिथि र सदस्यलाई धन्यवाद ज्ञापन गर्दै सहकारीलाई अझै सुदृढ र पेशागत बनाउन प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा सहकारीका सदस्य, संस्थापक, कृषक समुदाय, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधिहरूले उल्लेख्य उपस्थिति जनाएका थिए।





















