गाैशाला, मंसिर २१ गते ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनालाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठेक्का प्रक्रिया, लागत विवरण, भौतिक संरचना निर्माण, प्राविधिक मूल्यांकन र चीनसँग भएको सम्झौताका कागजातहरूको विस्तृत अध्ययनपछि आयोगले निर्माणका विभिन्न चरणमा मनपरी, लागत फुलाइने, आवश्यकताभन्दा धेरै संरचना थपिने, मूल्यांकनका महत्वपूर्ण अंश लुकाइने जस्ता क्रियाकलाप भएको निष्कर्ष निकालेको हो। यही आधारमा आयोगले ८ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गराएको हो ।
मुद्दामा परेकामध्ये पूर्व अर्थमन्त्री डा. रामशरण महत, माओवादीका दिवंगत पूर्व पर्यटनमन्त्री पोष्टबहादुर बोगटी, प्रचण्डको सिफारिसमा मन्त्री बनेका रामकुमार श्रेष्ठ, एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीम आचार्य, र झलनाथ खनालका स्वकीय सचिवबाट मन्त्री बनेका दिपक अमात्य सहित विभिन्न समयका १० जना सचिव तथा अन्य उच्च अधिकारीहरू समावेश छन्। पोष्टबहादुर बोगटीको निधन भइसकेकाले मृतककै नाममा मुद्दा दर्ता गरिएको छ ।
अख्तियारले आवश्यक कागजात, ठेक्का सम्झौता, लागत विवरण, डिजाइन–ड्रइङ र प्राविधिक प्रतिवेदनको विश्लेषण पूरा गरिसकेको र अहिले पूर्ण आरोपपत्र सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जनाएको छ । आरोपपत्र सार्वजनिक भएपछि विमानस्थल निर्माणमा कस–कसको प्रत्यक्ष संलग्नता थियो भन्ने थप स्पष्ट हुने आयोगको भनाइ छ ।

