जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पदभार ग्रहण गरेका छन्। बिहान पद तथा गोपनियताको शपथ लिएपछि उनले मुख्यमन्त्री कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाले।
पदभार ग्रहणसम्बन्धी संक्षिप्त कार्यक्रममा मुख्यमन्त्री यादवले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्। सत्ता गठबन्धनमा समावेश सबै दलको सहभागीता सुनिश्चित गरी सरकार गठन प्रक्रियालाई शीघ्र टुंग्याउने प्रतिवद्धता उनले व्यक्त गरे।
‘पहिलो दिनदेखि नै परिणाममुखी काम गर्ने लक्ष्यका साथ सरकारमा आएको हुँ,’ उनले भने। प्रदेशमा सुशासन कायम गर्दै छिटो, छरितो रूपमा सेवा वितरण गर्नेमा आफू केन्द्रित रहने उनको भनाइ छ।
यादवले प्रतिपक्षी दलहरूबाट पनि रचनात्मक सहयोगको अपेक्षा गरेका छन्। उनले राजनीतिक स्थायित्वका लागि सबै दल बीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
हाल मुख्यमन्त्री यादवकहाँ अर्थ मन्त्रालय बाहेकका सबै मन्त्रालयको जिम्मेवारी रहेको छ।

