गाैशाला : मधेस प्रदेश सरकारले अघिल्ला मन्त्रिपरिषद् बैठकका सबै निर्णयहरू बदर गरेको छ। प्रदेश सरकारका अनुसार साउन २३ देखि भदौ १९ सम्म बसेका बैठकका निर्णयहरू र साउन २३ मा गठन भएको मन्त्रिपरिषद् कार्यकालमा भएका नियुक्ति, जिम्मेवारी हस्तान्तरण तथा थप जिम्मेवारी तोक्ने निर्णयहरू पनि खारेज गरिएका छन्।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव जयकुमार श्रीवास्तवलाई अर्को व्यवस्था नभएसम्म आन्तरिक प्रशासन, आर्थिक अधिकारसहित सचिवस्तरीय जिम्मेवारी प्रदान गरिएको छ।
प्रदेश सरकारले नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राख्दै आगामी वर्षायाममा डेंगु, झाडापखाला, हैजा जस्ता रोग नियन्त्रण, औषधि र स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
साथै, बाढी, डुबान, आगलागी जस्ता प्राकृतिक विपद्का जोखिम उच्च रहेकाले गृह, सञ्चार तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कार्यसमिति र सम्बन्धित निकायहरूलाई पूर्वतयारी, खोज–उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिइएको छ ।

