जनकपुरधाम, मंसिर २१ गते ।
मधेश प्रदेशको जनकपुरधामस्थित होटल वेलकममा ‘सशक्तिकरण: विश्वास, निर्माण र टिमवर्क’ विषयमा आयोजित कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। समुदायमा शान्ति, सहकार्य र समावेशी सहभागिता बढाउँदै दीगो सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सपोर्ट नेपालले आयोजना गरेको उक्त कार्यक्रम KURVE Wustrowको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा समुदायका प्रतिनिधि, युवा, महिला समूहका सदस्य तथा स्थानीय सरोकारवालाले सहभागिता जनाएका थिए। सहभागीहरूलाई विश्वास निर्माण, समूहगत समन्वय, सहकार्य र टिमवर्कका आधुनिक विधिबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकहरूले समुदायमा देखा परेका चुनौती, वैमनस्यता न्युनिकरण र दिगो शान्ति स्थापनाका लागि आवश्यक रणनीतिबारे विस्तृत प्रस्तुति दिएका थिए ।

सहभागीहरूले कार्यशालाले समुदायमै सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गरेका छन्। सपोर्ट नेपालका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ, जसले स्थानीयस्तरमा शान्ति, सहकार्य र समावेशी सहभागितालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मंडल, उपमेयर मंजु साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, विभिन्न वडाध्यक्ष, शिक्षा शाखा प्रमुख श्रीश मिश्रा, सपोर्ट नेपालका अध्यक्ष रोशना खड्का, उपाध्यक्ष सुनील मल्लिक, जिल्ला संयोजकहरू, बजार टोल विकास संस्थाका पदाधिकारी तथा रेडियो श्रोता क्लबका प्रतिनिधि उपस्थित थिए।


