गाैशाला, मंसिर २१ गते ।
महाेत्तरीकाे बलवा नगरपालिकामा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकहरूको ‘घरमै सिकाई–सीप’ विकासका लागि आयोजना गरिएको तीनदिने तालिम सफलतापूर्वक पूरा भएको छ । मंसिर १९ देखि २१ गतेसम्म रतौली युवा क्लबको पहलमा, सार्क विकास कोष र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।
तालिमले घरमै सिकाइलाई दैनिक व्यवहारसँग जोड्ने तरिकाबारे शिक्षकहरुलाई व्यावहारिक रूपमा उन्मुख गराएको आयोजकहरूको भनाइ छ । बालबालिकाको उमेरअनुकूल सिकाईकुना निर्माण, खेलमार्फत सिकाउने विधि, कथा–गीत–कविताको उपयोग, अक्षर–अंक परिचय तथा आधारभूत गणितीय सोच विकास गराउने सीप तालिमको मुख्य भाग रहेको थियो ।
रतौली युवा क्लबका वरिष्ठ परियोजना संयोजक सुनिल चौधरीका अनुसार, अभिभावक र बालबालिका दुबैलाई सहभागी बनाउँदै घरभित्रै रमाइलो सिकाई वातावरण निर्माण गर्नु तालिमको मूल लक्ष्य थियो । “घरमै सिक्दै–रमाउँदै सिकाइतर्फ आकर्षित बनाउने उपायहरु शिक्षकले अब प्रत्यक्ष अभ्यासमा उतार्न सक्नेछन्,” उनले बताए ।
बलवा नगरपालिकाका शिक्षा शाखा प्रमुख राज किशोर झाको नेतृत्वमा नगरका २४ विद्यालयका ईसीडी शिक्षकहरूले तालिममा सक्रिय रूपमा सहभागी भएका थिए । समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख झा र रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले कार्यक्रमको प्रभावकारिता र समुदायमा यसको आवश्यकता बारे आ–आफ्नो भनाइ राखेका थिए ।
तीन दिनको तालिममा मुख्य प्रशिक्षकहरू शिवशंकर चौधरी, कन्चन साह, गोबिन्दलाल कर्ण, कल्पना साहलगायतले विभिन्न सत्र सञ्चालन गरेका थिए ।

