रासस
जुम्लाकाे खलङ्गा बजार यसै हप्ता कृषि जैविक विविधता र परम्परागत खाद्यसंस्कृतिको रंगीन प्रदर्शनस्थल बन्दैछ। चन्दननाथ नगरपालिका कृषि शाखाले मङ्सिर २७ गते आयोजना गर्न लागेको प्रदर्शनी मेलामा जिल्लाका किसान र कृषि समूहले आफ्ना मौलिक उत्पादन तथा परिकार सार्वजनिक गर्नेछन्। मेलालाई कृषि खाद्य प्रणालीका लागि नवीकरणीय उर्जा परियोजनाले सहयोग गरिरहेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले मेलाले जुम्लामा पाइने मौलिक बाली, दाल–अनाज, औषधिजन्य वनस्पति र स्थानीय खाद्य परिकारलाई एकै ठाउँमा देखाउने अवसर प्रदान गर्ने बताए। उनका अनुसार, किसानहरूले संरक्षण गर्दै आएका रैथाने बाली र परिकारको पहिचान झनै मजबुत बनाउन मेलाले सहयोग पुर्याउनेछ।
मेलाबाट जैविक विविधताको जगेर्ना, परम्परागत खाद्य संस्कृति पुनर्जीवन तथा स्थानीय स्रोतको सदुपयोग गर्ने चेतना विस्तार हुने अपेक्षा लिइएको छ। नगरपालिका स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतका अनुसार, स्थानीय उत्पादनमा आधारित स्वस्थकर आहाराले समुदायको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने भएकाले प्रदर्शनीले जनसन्देश प्रसारणमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।
कृषि शाखाका अनुसार किसानका नवीन प्रयोग, मौलिक बीउबिजन, दाल–ढेंकीबट्टाको उत्पादनदेखि लिएर जनपदका स्थानीय स्वाद बोकेका परिकारसम्म मेलामा प्रदर्शित गरिनेछ। जुम्लाको जैविक सम्भावना र कृषि पहिचानलाई देशभर परिचित गराउने अवसरको रूपमा पनि मेलालाई हेरिएको छ।

