रौतहट, मंसिर २२ गते ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादव आफ्नो गृहभू–कटहरिया पुगेपछि स्थानीयवासी, जनप्रतिनिधि र पार्टीकार्यकर्ताले उनलाई विशेष सम्मानसहित स्वागत गरेका छन्। कटहरिया बजारमा आयोजित कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति (क्षेत्र नं. ३) ले आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडा अध्यक्ष सरफलाल गुप्ताले गर्दै मुख्यमन्त्रीको आगमनमा खुशी व्यक्त गरे।
स्वागतका क्रममा यादवलाई दोसल्ला, माला र ताली–ठट्याइबीच सम्मान गरिएको थियो। रौतहटले लामो समयपछि मुख्यमन्त्री पाएको भन्दै स्थानीयले गर्व र उत्साह प्रकट गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले प्रदेशमा रहेका बेथिति हटाई सुशासनलाई संस्थागत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले मधेश प्रदेशमा चुनौतीहरू प्रशस्तै भए पनि एक–एक गर्दै समाधानतर्फ अघि बढ्ने बताएका हुन्। रोकिएका विकास योजना अगाडि सार्नु, नयाँ सोचका नीति तथा जनमुखी कार्यक्रम ल्याउनु सरकारको प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारे।
मधेशका अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेको उल्लेख गर्दै उनले कृषि क्षेत्रलाई शीर्ष प्राथमिकतामा राखिने बताए। शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा पनि समानरूपमा ध्यान केन्द्रित गरेर मधेशवासीले प्रत्यक्ष रूपमा अनुभूति हुने परिवर्तन ल्याइने उनको भनाइ थियो।
छ दलिय गठबन्धन मजबुत रहेको भन्दै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार पनि गठबन्धनभित्र सहमति गरेर चाँडै टुंग्याइने जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व अर्थमन्त्री सुनील यादव जितेन्द्र, सांसद प्रत्याशी ओमप्रकाश जयसवाल, गरुडा नगरपालिकाका मेयर प्रत्याशी सुनील यादवसहित स्थानीय नेता, कार्यकर्ता, शिक्षक तथा सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति थियो।

