जनकपुरधाम, मंसिर २४ गते ।
जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरीमा नाम रहेका थप दुई जनालाई पक्राउ गरेसँगै घटना नयाँ मोडमा पुगेको छ। पिडित पक्षको निरन्तर दबाबपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) सक्रिय बनेको केही घण्टामै बुबा–छोरा पक्राउ परेका हुन् ।
धनुषा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षणक गणेशबहादुर बळका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम–३ देवान पोखरीका ४५ वर्षीय सच्चिन झा र उनका १५ वर्षीय छोरा प्रतिक झा छन्। किटानी जाहेरीमा उनीहरूलाई प्रत्यक्ष संलग्न देखाइएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूलाई पक्राउ गरेको हो ।
यसअघि नै मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्र, उनका भिनाजु र भान्जा प्रहरी नियन्त्रणमा परिसकेका छन्। घटना सार्वजनिक भएको एक सातापछि मात्रै उनीहरू पक्राउ परेपछि मृतक पक्षले प्रहरीप्रति असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलनसमेत गरी सिआइबीबाट impartial छानबिनको माग गरेका थिए ।
सिआइबी घटनास्थलमा, अनुसन्धान ‘डिटेल मोड’ मा
माग परेको भोलिपल्टैदेखि नै सिआइबीको टोली घटनामा संलग्न भई अनुसन्धान सुरु गरिसकेको छ। घटनास्थल, सम्भावित बयान, दाइजोसम्बन्धी विवाद र परिवारबीचको सम्बन्धलगायत सबै कोणबाट छानबिन गर्न सिआइबी अघि बढेको प्रहरीले जनाएको छ ।
रोशनीको मृत्यु : दुर्घटना कि योजना बद्ध हत्या?
जनकपुरधाम–४ कटैया चौरीकी रोशनी झा मंसिर १२ गते राति मृत भेटिएकी थिइन्। ससुराली पक्षले “भर्याङबाट खसेर” वा “झुण्डिएर” मृत्यु भएको भन्दै विभिन्न कथन दिएपछि घटना थप शंकास्पद बनेको हो ।
मायती पक्षका अनुसार दाइजोका नाममा निरन्तर रकम र सामग्रीको माग, पटक–पटक गरिएको मानसिक तथा शारीरिक हिंसा, कागजपत्र जलाएको घटना र मृतकलाई बचाउन साटो मक्किएको बयानले घटनालाई ‘हत्या’ प्रमाणित गरिरहेको बताइएको छ।
मृतकका श्रीमान् प्रशान्त मिश्र मधेश प्रदेशको नीति तथा योजना आयोगमा शाखा अधिकृतका रूपमा कार्यरत छन्। विवाहका बेला ९ लाख नगद र पछि घर निर्माणका लागि १५ लाख सहयोग गरेको पक्षले दाबी गर्दै आएको छ। रोशनीका दुई नाबालक सन्तान अहिले मायती पक्षकै संरक्षणमा रहेका छन्।
हिंसा विरुद्धको अभियानकै बीच ‘जनकपुरको चर्चा’
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यो घटना सार्वजनिक भएपछि देश–विदेशमा नै यसको चर्को चर्चा भइरहेको छ। सामाजिक सञ्जालदेखि नागरिक समाज र मानवअधिकारकर्मीहरू घटनामा विशेष चासो राखिरहेका छन् ।
प्रहरीले आवश्यक प्रमाण संकलन भइरहेको र अनुसन्धानको निष्कर्षअनुसार थप पक्राउ तथा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

