राजेश सिंह
गाैशाला, मंसिर २४ गते ।
‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा महाेत्तरीकाे गाैशाला नगरपालिका–५ मा बुधबार प्रभातफेरी र सडक नाटक प्रदर्शन सहितको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसा रोकथामका लागि जनचेतना अभिवृद्धि र समुदायमा सामूहिक आवाज उठाउने उद्देश्यले गरिएको कार्यक्रमले स्थानीयबासीको आकर्षक सहभागिता पाएको थियो ।
“प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित सुरु भएको प्रभातफेरी गाैशाला बजार क्षेत्रमा परिक्रमा गर्दै स्थानीयलाई डिजिटल सुरक्षामा सचेत रहन अपिल गरिएको थियो । सहभागीहरूले प्लेकार्ड, ब्यानर र नाराबाजी सहित बजार घुमे । प्रभातफेरीपछि दुर्गा मन्दिरको प्रांगणमा उपस्थित जनसमुदायलाई केन्द्रित गर्दै सन्देशमूलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
नाटकले घरेलु हिंसा, सामाजिक कुसंस्कार, साइबर दुरुपयोग, अनलाइनबाट हुने धम्की, महिला तथा किशोरीमाथि हुन सक्ने ठगी तथा प्राविधिक दुरुपयोगका जोखिमबारे व्यावहारिक उदाहरण मार्फत चेतना फैलायो जस्ता दृश्यहरु देखाएका थिए ।
कार्यक्रम सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) को साझेदारी र गाैशाला नगरपालिकाको सहकार्यमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । समुन्नति कार्यक्रमले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म (२०८२ मंसिर ९–२४) विश्वव्यापी रूपमा मनाइने अभियानको स्थानीय संस्करणलाई जोड दिएर विभिन्न सचेतना गतिविधि गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाैशाला नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ताले डिजिटल युगमा प्रविधिको गलत प्रयोगले नयाँ प्रकारका हिंसा बढिरहेको उल्लेख गर्दै समुदायले आफै जिम्मेवारी पूर्वक प्राविधिक साधनको उपयोग गर्नुपर्ने औल्याए । उनले नगरपालिकाले लैङ्गिक हिंसा रोकथामका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
विशिष्ट अतिथिमा कार्यपालिका सदस्य मन्दिना देवी सदा, खुईली देवी सदा, CDAFN की फिल्ड अधिकृत सुरेखा चौधरी, फिल्ड सुपरभाइजर रिंकी श्रेष्ठ लगायत कर्मचारी र प्रतिनिधिहरू सहभागी थिए । उपस्थित अतिथिहरूले अभियानले महिलामाथि हुने हिंसा, दाइजो समस्या, साइबर अपराध, बालविवाह, अन्धविश्वास तथा विभिन्न सामाजिक विभेदका विरुद्ध स्थानीय तहमा प्रभावकारी सन्देश पुर्याइरहेको बताए ।
सडक नाटक स्थानीय युवाहरूले नै प्रस्तुत गरेको हुँदा दर्शकहरूको सहभागिता उत्साहजनक थियो । विशेषगरी किशोरी, विद्यार्थी, स्थानीय महिला समूह, सामुदायिक अगुवाहरू सक्रिय रहे । सहभागीहरूले यस्तो कार्यक्रमले गाउँ–समुदायमा मौन रहेको हिंसा उजागर गर्न मद्दत गर्ने र पीडितलाई अघि बढ्न हौसला प्रदान गर्ने बताएका थिए ।
अभियानअन्तर्गत अझै विद्यालयस्तरीय हस्ताक्षर अभियान, अन्तरक्रिया तथा डिजिटल सुरक्षासम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन हुँदै जाने समुन्नति कार्यक्रमले जनाएको छ ।


































