बिरगंज, मंसिर २५ गते ।
मूनालाइट स्कुलका कक्षा ७ र ८ मा अध्ययनरत स्काउट विद्यार्थीहरूले आज ६ नं गेट क्षेत्रदेखि कुम्हाल टोलसम्म सरसफाइ अभियान सञ्चालन गरेका छन् । स्काउट पोसाकमै उतारेका विद्यार्थीहरूले सडक, वरिपरिका गल्ली तथा सार्वजनिक स्थानमा रहेको फोहोर संकलन गर्दै क्षेत्र सफा गरेका हुन् ।
विद्यार्थीहरूले झाडू, कचरा बोरा र अन्य सरसफाइ सामग्री प्रयोग गर्दै अभियानलाई सक्रिय र प्रभावकारी बनाएका थिए । स्थानीयवासीहरूले विद्यार्थीहरूको पहलप्रति प्रशंसा व्यक्त गर्दै यस्ता गतिविधिले टोल सफा र व्यवस्थित बन्ने विश्वास व्यक्त गरे।
अभियानमा विद्यालयका प्रधानाध्यापक श्याम के.सी. र भूपनारायण पटेल उपस्थित थिए। विद्यार्थीहरूले प्लास्टिक तथा अन्य फोहोर उठाउँदै “आफ्नो टोल सफा राखौं” भन्ने सन्देश पनि प्रवाह गरे।
यस्तै, वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाले समेत अभियानमा सहयोग गर्दै सरसफाइको महत्त्वबारे विद्यार्थीहरूसँग संक्षिप्त संवाद गरेका थिए।
विद्यालयका अनुसार भोलि बिहान १० बजेबाट स्काउट टोली कुम्हाल टोलका घर–घर पुगेर सरसफाइ सम्बन्धी जानकारी दिने तथा पम्पलेट वितरण गर्ने कार्यक्रम समेत तय गरिएको छ।

