काठमाडौं, मंसिर २६ गते ।
काठमाडौंकाे तारकेश्वर नगरपालिकामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धनका लागि आज दिउँसो वडा नं. ८ अन्तर्गत पर्ने लामबगर–जरन्खु सडकखण्डमा व्यापक ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको छ ।
दैनिक रूपमा सार्वजनिक बसदेखि दुईपांग्रे मोटरसाइकलसम्मका चालकको लापरवाही बढ्दै गएको अवस्थामा ट्राफिक प्रहरी प्रभाग नेपालटारका प्रमुख सुरेश कार्कीको नेतृत्वमा अस्थायी ट्राफिक प्रहरी पोस्ट धर्मस्थली, जितपुर–फेदी तथा जितपुर–धर्मस्थली नेपाल प्रहरीको संयुक्त टोलीले सडकमै पुगेर चेकजाँच गरेको हो ।
अभियानका क्रममा लाइसेन्स, बिलबुक, ओभरस्पीड, स्कूल बससम्बन्धी प्रावधान, ट्राफिक नियम उल्लंघन र अन्य कागजातहरू सूक्ष्मरूपमा निरीक्षण गरियो । नियमविपरीत सवारी सञ्चालन गर्ने चालकलाई तत्काल सल्लाह–सुझाव, सचेतना तथा आवश्यक कानून अनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कानूनी प्रक्रियामा परेका केही चालकले पनि ट्राफिक प्रहरीको सचेतनामूलक प्रयासप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए ।








