चन्दन कुमार महतो
रौतहट, मंसिर २६ गते ।
रौतहटको परोहा नगरपालिका–७ र ८ का दलित समुदायका सदस्यहरूले आफ्नै बस्तीका पटवारी नरेशप्रसाद पटेलले जग्गा हडपेको आरोप लगाउँदै बिहीबार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।
बिहानैदेखि सुरु भएको प्रदर्शनमा सहभागीहरूले “दलितको जग्गा हडप्ने पटवारीलाई कारबाही गर”, “झुटा मुद्दा खारेज गर”, “हाम्रो मुद्दा दर्ता गर” र “दलितमाथि शोषण बन्द गर” जस्ता नारा लगाएका थिए। उनीहरूले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म र्याली निकालेर अदालतको गेटमै धर्ना दिएका थिए ।
पीडित सुरेन्द्र महरा चमारका अनुसार करिब चार वर्षअघि उनले पटवारी पटेलसँग ८ लाख १० हजार रुपैयाँ ऋण लिँदा ८ कठ्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखेका थिए। एक वर्षभित्रै साढे ७ लाख रुपैयाँ फिर्ता बुझाइसक्दा पनि पटेलले दृष्टिबन्धक फुकुवा नगरेको मात्र नभई जग्गा गैरकानुनी रूपमा आफ्नी श्रीमतीको नाममा पास गरी अन्य व्यक्तिलाई बेचिदिएको महराले बताए ।

गाउँमा पटक–पटक छलफल र मेलमिलाप प्रयास असफल भएपछि महरा कानुनी प्रक्रिया अपनाउन बाध्य भएका छन्। उजुरीपछि जिल्ला प्रहरीले मंसिर २ गते पटेललाई पक्राउ गरी हिरासतमा राखेको छ ।
नेपाल दलित समाज परोहा–७ र ८ का प्रतिनिधिहरूले यस घटनालाई दलितमाथि हुने शोषण र ठगीको उदाहरण भन्दै घटनाको पूर्ण, निष्पक्ष र गम्भीर छानबिन, पीडितको जग्गा तत्काल फिर्ता, र पटवारीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। स्थानीय प्रतिनिधिहरूले न्यायिक निकायले यो मुद्दा प्राथमिकताका साथ समाधान गर्नुपर्ने पनि बताएका छन्।

