जनकपुरधाम, मंसिर २७ गते ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–४ स्थित कजरा टोलमा वैदेशिक रोजगारीमा रहेका युवाहरूले गाउँका आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी राहत वितरण कार्यक्रम सञ्चालन गरेका छन्।
कार्यक्रममार्फत तीन परिवारलाई प्रतिपरिवार ६ हजार १ सय रुपैयाँ नगद सहयोग उपलब्ध गराइएको छ। त्यस्तै, छोरीको विवाहको तयारीमा रहेको एक परिवारलाई विशेष सहयोगस्वरूप १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
यसका अतिरिक्त, चार परिवारलाई खाद्यान्न तथा दैनिक प्रयोगका सामग्री वितरण गरिएको छ। राहत सामग्रीमा २५ केजी चामल, २ केजी दाल, १२ केजी आलु, खाने तेल, साबुन, सर्फ र एक थान कम्बल समावेश गरिएको थियो।
चिसो बढ्दै गएको अवस्थामा गाउँको मन्दिरमा सेवा गर्दै आएका पुजारीलाई न्यानो कपडा प्रदान गरी जाडोबाट जोगिन सहयोग गरिएको आयोजकले बताएका छन्।
विदेशमा रहेर पनि आफ्नो गाउँ र समुदायप्रति जिम्मेवारी महसुस गर्दै गरिएको सहयोगप्रति स्थानीयवासीहरूले प्रशंसा व्यक्त गरेका छन्। यस्ता सामाजिक पहलले गाउँमा सहकार्य, मानवीय भावना र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

