जनकपुरधाम, मंसिर २९ गते ।
विगत ४७ वर्षदेखि कानुनी जटिलतामा अल्झिएको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा नामसारी प्रक्रिया अन्ततः टुंगोमा पुगेको छ। विशेष पहल र निरन्तर प्रयासमार्फत उक्त प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुर्याइएको जनाइएको छ।
अस्पतालको नाममा जग्गा नामसारी गर्दा लाग्ने करिब १ करोड ३४ लाख रुपैयाँभन्दा बढीको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) सबैभन्दा ठूलो अवरोधको रूपमा रहेको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्पूर्ण लाभकर छुट दिने निर्णय गरेसँगै १ विघा १५ कठ्ठा १० धुर क्षेत्रफलको जग्गा अब विधिवत् रूपमा अस्पतालको स्वामित्वमा आएको छ।
यो ऐतिहासिक निर्णय कार्यान्वयनमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै माननीय मन्त्री अनिल कुमार सिंहा र अर्थमन्त्री रामेश्वरप्रसाद खनालप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको समन्वय, दूरदर्शिता र जनहितप्रतिको प्रतिबद्धताका कारण दशकौं पुरानो समस्या समाधान सम्भव भएको उल्लेख गरिएको छ।

सिरहा जिल्लाको पूर्वी भेगमा अवस्थित यो अस्पताल यस क्षेत्रको एकमात्र प्रमुख स्वास्थ्य संस्था हो। जग्गा नामसारी सम्पन्न भएसँगै अब करिब १० लाख नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। साथै, भविष्यमा मधेस प्रदेशकै लागि महत्वपूर्ण हुने ट्रमा सेन्टर स्थापना गर्ने सम्भावना समेत खुलेको छ।
स्थानीय बासिन्दाहरूले यस निर्णयलाई ऐतिहासिक उपलब्धि मान्दै अस्पतालको पूर्वाधार विकास र सेवा विस्तारमा नयाँ अध्याय सुरु भएको प्रतिक्रिया दिएका छन्।

