काठमाडौं, मंसिर २९ गते ।
नेपाली कांग्रेसका स्थापित नेता तथा गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याललाई पुत्रशोक परेको छ। उहाँका जेठा सुपुत्र माधव अर्याल ‘मुक्ति’को सोमबार पोखरामा उपचारका क्रममा निधन भएको हो। ३८ वर्षीय माधव पछिल्लो समय जापानमा बस्दै आएका थिए।

जापानमै जन्डिसबाट गम्भीर बिरामी भएपछि उनी उपचारका लागि नेपाल फर्किएका थिए। करिब पाँच महिनादेखि निरन्तर उपचार भइरहेकै अवस्थामा सोमबार बिहान अस्पतालमै उनको निधन भएको परिवारजनले जनाएका छन्।
मृतक माधवका श्रीमती दीपा र ९ वर्षीय छोरा आदीन रहेका छन्। उनको शवलाई वालिङस्थित रामदीघाटमा दाहसंस्कार गरिँदैछ। अल्पायुमै भएको निधनले वालिङ क्षेत्र शोकाकुल बनेको छ।

स्वर्गीय माधव अर्यालप्रति राजधानी टुडेको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
उनको अन्त्येष्टिमा विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि तथा स्वतन्त्र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

