काठमाडौं: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय लिएका छन्। उनले केन्द्रीय सदस्य पदका लागि मात्र मनोनयन दर्ता गराएका छन्।
अध्यक्ष केपी शर्मा ओली पक्षले तयार पारेको उपाध्यक्षको प्रस्तावित सूचीमा उनको नाम समावेश भए पनि ज्ञवालीले सुरुदेखि नै महासचिव बाहेक अन्य पदप्रति रुचि नरहेको बताउँदै आएका थिए। आइतबार साँझ गुण्डुमा भएको आन्तरिक छलफलमा पनि उनले उपाध्यक्ष पद नस्वीकार्ने अडान कायम राखेको स्रोतले जनाएको छ।
तर प्यानल सार्वजनिक हुँदा समेत आफ्नो नाम उपाध्यक्षका रूपमा राखिएपछि उनी असहज बनेका छन्। भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रबाट बाहिरिँदा ज्ञवाली भावुक देखिएका थिए।
निकटस्थहरूका अनुसार, उनले एउटै व्यक्तिलाई बारम्बार पदमा दोहोर्याउने संस्कारले पार्टीभित्र नकारात्मक सन्देश जाने बताएका छन्। आफू पदभन्दा आन्दोलनमा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै उनले अब साधारण कार्यकर्ताको रूपमा पार्टी गतिविधिमा सक्रिय रहने बताएका छन्।
केन्द्रीय सदस्यबाहेक अन्य कुनै पदमा उम्मेदवारी नरहने स्पष्ट पार्दै ज्ञवालीले पार्टीभित्र निष्पक्षता, पारदर्शिता र सबैलाई अवसर दिनुपर्ने विषयमा आफ्नो अडान कायम रहेको बताएका छन्।

