धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु: भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएको १८१ बोरा युरिया मल कपिलवस्तुमा बरामद गरिएको छ। स्थानीय तस्कर समूहसँग मिलेर कपिलवस्तुको शिवराज नगरपालिका–७, रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले युरिया मल नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुला चौधरीका अनुसार ट्रकमा लोड गरिएको युरिया मल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको भारतीय युरिया मल र प्रयोग भएको ट्रकलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

उक्त प्लाइउड उद्योग स्थानीय व्यापारी मनोज कनौडियाको रहेको जनाइएको छ । स्थानीय स्तरमा प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ। कपिलवस्तु जिल्लामा रहेका करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गरिरहेको आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

