गाैशाला, पुस १ गते ।
महोत्तरीको औरही नगरपालिका–८ टिम्कियामा भएको सडक दुर्घटनापछि स्थानीयले बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् । मंगलबार बिहानदेखि टायर बालेर गरिएको चक्का जामका कारण करिब चार घण्टा सवारीसाधन चल्न सकेनन् ।
साेमबार राति करिब ८ः३० बजे बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको मोटरसाइकलले टिम्किया निवासी अन्दाजी ४५ वर्षीय शिवजी दयाल यादवलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका यादवको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले दोषीमाथि कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका थिए। सडक बन्द हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए।
पछि औरही नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार खड्का टिम्किया पुगेर पीडित परिवार र स्थानीयसँग छलफल गरेका थिए ।
छलफलपछि शव पोस्टमार्टमपछि छिट्टै परिवारलाई बुझाउने, मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, टिम्किया क्षेत्रमा सडक फराकिलो बनाउने, सीसीटीभी क्यामरा र सडकबत्ती जडान गर्ने सहमति भएको छ । नगरप्रमुख खड्काले कानुनी प्रक्रियाअनुसार दोषीमाथि कार्वाही हुने र दुर्घटना नदोहोर्याउन आवश्यक काम गरिने बताए ।
सहमति भएपछि बिहानदेखि बन्द रहेको बर्दिवास–जलेश्वर सडकखण्ड करिब चार घण्टापछि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

