गाैशाला, पुस १ गते ।
महोत्तरीकाे गाैशालाबाट मोटरसाइकल र गाँजा सहित दुई जना पक्राउ परेको छ । मंगलबार बिहान गौशाला नगरपालिका–८ खाल्टे बजारस्थित महादेव मन्दिर नजिकि भित्री सडक खण्डमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको चेकिङ टोलीले मोटरसाइकलमा लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले ढल्केबरबाट खाल्टे बजार तर्फ आउँदै गरेको BR 30 W 1309 नम्बरको १५० सिसी रातो–कालो पल्सर मोटरसाइकललाई रोक्यो र जाँच गर्दा मोटरसाइकलमा दुई पोका गरी जम्मा १०.६५० किलो गाँजा जस्तो देखिने लागूऔषध फेला परेको थियो ।
बरामद गाँजा मोटरसाइकलमा रहेका दुई पोका प्लाष्टिकको बोरा र कालो झोलामा राखिएको अवस्थामा भेटिएको थियो । मोटरसाइकलमा सवार २० वर्षिय हरेन्द्र बैठा र रामदेव बैठको नाती र ईन्द्रजित बैठाको छोरा हुन् र अर्जुन बैठा (२१ वर्ष), जो रामदेव बैठको नाती र राम छबिलाल बैठको छोरा हुन्, दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महाेत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
उपरीक्षक भट्टका अनुसार, दुबै जनालाई थप अनुसन्धानका लागि कार्यालयमा ल्याइएको छ र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।




