कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन
राजेश सिंह
गाैशाला, पुस २ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक संकटको निकास दिन प्रतिनिधि सभाको चुनाव नै एकमात्र विकल्प भएको बताएका छन् । त्यसका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
बुधबार महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको बताए । उक्त श्रद्धाञ्जली कार्यक्रम नेकपाका मधेस प्रदेश समिति सदस्य तथा सहकारी केन्द्र नेपालका केन्द्रीय समिति सचिव स्वर्गीय कमरेड काशी महतो (करण) को स्मृतिमा आयोजना गरिएको थियो ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले स्वर्गीय काशी महतो पार्टीका सच्चा र निष्ठावान सिपाही भएको स्मरण गरे । “काशीजीले कहिल्यै आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीसँग सिफारिस मागेनन्। उहाँ सधैं समाजको विकास र जनताको हितका लागि मात्र पार्टीमार्फत काम गर्नुहुन्थ्यो,” अध्यक्ष दाहालले भने । स्वर्गीय काशी महतोको गत मंसिर २२ गते हृदयघातका कारण निधन भएको थियो। कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले महतो परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर श्रद्धा व्यक्त गरेका थिए ।
श्रद्धाञ्जली सभामा पार्टीका वरिष्ठ नेता माधव नेपाल, महेन्द्र यादव, गिरिराजमणि पोखरेल, रामचन्द्र झा, विश्वनाथ साह, लिलामणि पोखरेल, भरत प्रसाद साहलगायत जिल्ला तथा नगर कार्यसमितिका पदाधिकारी र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


