गाैशाला, पुस २ गते ।
मधेश प्रदेश सरकारअन्तर्गतका १८ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस १ र २ गते दुई–दुई जनाको आठ टोली परिचालन गरी जनकपुरधामस्थित प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा छड्के निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा पुस १ गते ४८ जना र पुस २ गते २४ जना गरी कुल ७२ जना कर्मचारी कारबाहीमा परेको निमित्त मुख्य सचिव रामकुमार महतोले जानकारी दिनुभयो। उहाँका अनुसार पदीय मर्यादा विपरीत काम गरेको, बिदा स्वीकृति नलिई घर बसेको तथा तोकिएको पोसाक नलगाई कार्यस्थलमा उपस्थित भएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
कार्वाहीमा परेकामध्ये ३४ जना बिदा स्वीकृति बिना अनुपस्थित र ३८ जना तोकिएको पोसाक नलगाई उपस्थित भएको पाइएको छ। मन्त्रालयगत रूपमा हेर्दा खेलकुद तथा समाज कल्याण मन्त्रालयका ९ जना, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका ८ जना, वन तथा वातावरण मन्त्रालयका ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका ५ जना, शिक्षा तथा संस्कृति मन्त्रालयका ५ जना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ४ जना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका ३ जना र गृह, सञ्चार तथा कानुन मन्त्रालयका १ जना कर्मचारी कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका ७२ जनामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी छन्। तहगत रूपमा उपसचिव २ जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन्। अनुगमन टोलीले सम्बन्धित कर्मचारीसँग स्पष्टिकरण सोध्नुका साथै नसिहत दिने कार्य गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरूमा छड्के अनुगमनलाई निरन्तरता दिने जनाएको छ। सरकारी कामकारबाहीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तीन दिनअघि मात्र मुख्य सचिव महतोले कर्मचारीहरूका नाममा २३ बुँदे निर्देशन जारी गर्नुभएको थियो ।


