गाैशाला, पुस २ गते ।
महोत्तरीको गौशाला नगरपालिका–७ जमुनियामा दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता २०८२ भव्य रूपमा सुरु भएको छ। स्थानीय खेलकुदको विकास, युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गौशाला नगरपालिकाका नगरप्रमुख को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुखले खेलकुदले युवालाई अनुशासन, नेतृत्व र आत्मविश्वास सिकाउने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई नगरपालिकाले सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीन जिल्लाबाट १६ टिमको सहभागिता
यस प्रतियोगितामा मधेश प्रदेशका तीन जिल्ला—महोत्तरी, सर्लाही र धनुषाबाट कुल १६ वटा टिम सहभागी छन्। विभिन्न जिल्लाबाट आएका टिमहरूको उपस्थितिले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको छ ।

महोत्तरी जिल्लाबाट आयोजक टिम जमुनिया A र जमुनिया B सहित मेघरौल इगल क्लब, भरतपुर एफसी, टाइगर एफसी र मदन कम्प्युटर प्रतियोगितामा सहभागी छन्। सर्लाही जिल्लाबाट मियाखोर एफसी, खैरा एफसी, बसन्तपुर युवा क्लब, आदर्श युवा क्लब, हरिपुर युनाइटेड, ओम युवा क्लब र फरहदवा टिम मैदानमा उत्रिएका छन्। धनुषा जिल्लाको प्रतिनिधित्व गर्दै जनकपुर एफसी एक मात्र टिमका रूपमा प्रतियोगितामा सहभागी भएको छ ।
उद्घाटन खेलमा जमुनियाको शानदार जित
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम जमुनियाले मेघरौल इगल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। खेल सुरु भएदेखि नै जमुनिया टिम आक्रामक देखिएको थियो। खेलको पहिलो हाफमै जमुनिया टिमका मिडफिल्डर जर्सी नम्बर ९ का पासमानले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दर्शकको हुटिङ र तालीबीच भएको उक्त गोलपछि खेलको लय जमुनियाको पक्षमा गएको थियो। त्यसपछि थप दुई गोल गर्दै जमुनियाले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
खेल अवधिभर दुबै टिमका खेलाडीहरूले अनुशासित र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए। मैदानमा देखिएको जोश, खेलाडीहरूको मेहनत र दर्शकको उत्साहले प्रतियोगिताको स्तर उच्च रहेको संकेत गरेको छ ।
पुरस्कार र फाइनल खेल
आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल २०८२ साल पुस १२ गते आयोजना गरिनेछ। फाइनल खेलसँगै उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७० हजार रुपैयाँ र दोस्रो हुने टिमलाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै कप, मेडल, प्रमाणपत्र तथा सान्तवना पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ, जसले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोह वडा नं. ७ का अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सचिव कौशल यादव, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।










