जनकपुरधाम: मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। आज दिउँसो ४ बजे बस्ने मधेश प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादव मंसिर १९ गते ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानिक व्यवस्था अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। उनलाई जसपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले समर्थन गर्दै आएका छन्।

