जनकपुरधाम, पुस ४ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट सबै दलको विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामा उपस्थित १० वटै दलका ९२ जना सांसदले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेका हुन् ।
सत्तापक्षका साथै प्रतिपक्षी दलहरूले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवलाई सर्वसम्मत समर्थन प्राप्त भएको हो । उपसभामुख बबिता राउत इशरले सभाको अध्यक्षता गर्दै मुख्यमन्त्री यादवले विश्वासको मत पाएको औपचारिक घोषणा गरिन् ।
प्रतिपक्षी नेकपा एमालेसँगै सत्ता बाहिर रहेका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि मुख्यमन्त्री यादवको पक्षमा मत दिएका छन् । यस्तै सातदलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि उनलाई विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिएर प्रारम्भिक मन्त्रीमण्डल गठन गरेका थिए । त्यसपछि मंसिर २९ गते सरकार पुनर्गठन गर्दै माओवादी केन्द्र र लोसपालाई सरकारमा सहभागी गराएका थिए ।
हाल मुख्यमन्त्रीसहित छ सदस्यीय मन्त्रीमण्डल रहेको छ भने छ वटा मन्त्रालय अझै रिक्त छन् । विश्वासको मत प्राप्त गरेसँगै गठबन्धनभित्र भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।

