काठमाडौं: चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार चयनलाई केवल सिफारिसको विषय नभई राजनीतिक चरित्रको परीक्षा बनाएको छ। पार्टीले जारी गरेको विशेष आन्तरिक सर्कुलरले उम्मेदवार बन्न चाहनेहरूका लागि कानुनी, नैतिक र वैचारिक ‘क्लिन फिल्टर’ लागू गरेको छ ।
पार्टी नेतृत्वका अनुसार अब चुनावी टिकट पाउन संगठनभित्रको पहुँच मात्रै पर्याप्त नहुने, सार्वजनिक विश्वास र व्यक्तिगत आचरण निर्णायक हुने संकेत यस सर्कुलरले दिएको छ ।
उमेरदेखि मतदाता सूचीसम्म
सर्कुलरले प्रतिनिधि सभा उम्मेदवारका लागि २५ वर्ष र राष्ट्रिय सभा उम्मेदवारका लागि ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्ने स्पष्ट गरेको छ। मतदाता नामावलीमा नाम दर्ता नभएका वा संविधान तथा कानुनले अयोग्य ठहर गरेका व्यक्ति स्वतः बाहिरिने व्यवस्था गरिएको छ। वहालवाला राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका पदाधिकारीलाई पनि उम्मेदवारीबाट रोकिएको छ ।
कालोधन र भ्रष्टाचारप्रति कडा नीति
नेकपाले आर्थिक स्वच्छतालाई उम्मेदवार छनोटको मुख्य आधार बनाएको छ। अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका, कर–राजस्व नतिरेका, सम्पत्तिको स्रोत अस्पष्ट भएका वा कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने सर्त राखिएको छ। उम्मेदवारले आफ्नो सम्पत्ति र आय–स्रोत सार्वजनिक गर्न अनिवार्य गरिएको छ ।
सामाजिक अपराधमा ‘नो इन्ट्री’
जातीय, लैंगिक, धार्मिक वा भाषिक विभेद, घरेलु हिंसा, मानव बेचबिखन, यौन दुर्व्यवहार, बालश्रमजस्ता गम्भीर सामाजिक अपराधमा संलग्न वा दोषी ठहर भएका व्यक्तिलाई टिकट नदिने नीति सर्कुलरमा स्पष्ट छ ।
विचार, आन्दोलन र जनविश्वास
पार्टी नीति–कार्यक्रमप्रति स्पष्ट वैचारिक प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान र जनताबीच विश्वसनीय छवि भएको व्यक्ति मात्र उम्मेदवार बन्न योग्य ठहरिने उल्लेख छ। संगठनात्मक अनुभव, संवाद क्षमता र सामाजिक प्रतिष्ठालाई पनि निर्णायक मानिएको छ ।
समावेशिताको पुनर्परिभाषा
उम्मेदवार सिफारिस गर्दा महिला, युवा (जेन–जी), दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रका समुदायलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ। शहीद परिवार, बेपत्ता तथा द्वन्द्वपीडित परिवार र आर्थिक रूपमा विपन्न वर्गलाई पनि विशेष ध्यान दिन भनिएको छ। एकै परिवारबाट एकभन्दा बढी उम्मेदवार सिफारिस नगर्ने नीति यसपटक कडाइका साथ लागू गरिने जनाइएको छ ।
चुनावी राजनीतिमा संकेत
राजनीतिक विश्लेषकहरूका अनुसार नेकपाको यो सर्कुलर आगामी निर्वाचनका लागि मात्र होइन, पार्टीभित्र अनुशासन, नैतिकता र सार्वजनिक उत्तरदायित्व स्थापित गर्ने प्रयास हो। यसले चुनावी राजनीतिमा ‘छवि’ र ‘विश्वास’लाई निर्णायक बनाउने नयाँ संकेत दिएको छ ।

