जनकपुरधाम: मधेश प्रदेश सभाको सभामुख पदका लागि हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । प्रदेश सभा सचिवालय, मधेश प्रदेशले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ अनुसार प्रक्रिया पूरा गरी अन्तिम सूची प्रकाशन गरेको हो ।
सार्वजनिक अन्तिम नामावलीअनुसार सभामुख पदका लागि दुई जनाको उम्मेदवारी कायम भएको छ। पहिलो उम्मेदवार धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टी निवासी ५६ वर्षीय माननीय राम अशिष यादव रहेका छन् । उहाँको प्रस्तावक माननीय बिरेन्द्र प्रसाद सिंह र समर्थक माननीय फकिर महतो रहेका छन् ।

त्यस्तै, दोस्रो उम्मेदवारका रूपमा बारा जिल्ला, कोल्हवी नगरपालिका–६ प्रसौना निवासी ६७ वर्षीय माननीय त्रिलोकी प्रसाद रहेका छन्। उहाँको प्रस्तावक माननीय शारदा देवी थापा र समर्थक माननीय जय चन्द्र प्रसाद पटेल रहेका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार तोकिएको समयसीमाभित्र कुनै उजुरी नपरेपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको हो। सभामुख पदको निर्वाचन निर्धारित कार्यतालिकाअनुसार प्रदेश सभा बैठकमार्फत हुने सचिवालयले जनाएको छ ।

