स्याङ्जा, पुस ५ गते ।
स्याङ्जाको चापाकोट नगरपालिकाले नगरपालिका स्तरीय नेपाली हिज्जे प्रतियोगिता (कक्षा ८ देखि १२ सम्म) सफलतापूर्वक सम्पन्न गरेको छ। प्रतियोगितामा भानु माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा द्वितीय स्थान श्री आदर्श माध्यमिक विद्यालय र श्री राधा दामोदर ज्ञान ज्योति संस्कृत माध्यमिक विद्यालयले संयुक्त रूपमा हासिल गरेका छन्। त्यस्तै तृतीय स्थान श्री जनज्योति माध्यमिक विद्यालयले प्राप्त गरेको छ भने श्री गंगालाल माध्यमिक विद्यालय सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
चापाकोट नगरपालिका–९ का वडाध्यक्ष तथा नगर शिक्षा समिति सदस्य श्री कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा समिति सदस्य तथा श्री राधा दामोदर ज्ञान ज्योति संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री अनन्तराज गैरेले सहभागी सबै विद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नगरभित्रका १३ वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि बढाउने तथा शुद्ध लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।






