जनकपुरधाम: मधेश प्रदेश सभाको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामअशिष यादवको हातमा पुगेको छ । प्रदेशसभा बैठकमा सम्पन्न मत विभाजन प्रक्रियाबाट उनले सभामुख पदमा विजय हासिल गरेका हुन् ।
मतदानमा सहभागी ९६ जना प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत परेको थियो भने विपक्षी उम्मेदवारले २४ मत प्राप्त गरेका थिए। बहुमतसहित समर्थन जुटाएपछि यादव सभामुख पदका लागि चयन भएका हुन् ।
उपसभामुख बबिता राउत इशरले सभामुखको आसनबाट मत परिणाम सार्वजनिक गर्दै यादवको निर्वाचन औपचारिक रूपमा घोषणा गरिन्। यादवको उम्मेदवारी प्रस्ताव नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले अघि सारेका थिए ।
सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका त्रिलोकी प्रसाद यादवको प्रस्ताव भने अघि नबढाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित यादव यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीमा रहेर संसदीय गतिविधिमा सक्रिय देखिँदै आएका थिए ।
यसअघि सभामुख पदमा रहेका नेकपा एमालेका रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा सातदलीय गठबन्धनले गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेपछि प्रदेशसभा नेतृत्व रिक्त थियो। नयाँ सभामुख चयनसँगै प्रदेशसभा कार्यसूचीले गति लिने अपेक्षा गरिएको छ ।


