अर्घाखाँची, पुस ६ गते ।
अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा अध्ययनरत ६८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसम बढ्दै गएपछि दलित लक्षित कार्यक्रमअन्तर्गत वडा कार्यालयले विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको हो ।
मुक्ति आधारभूत विद्यालयका ३१ जना तथा भगवती आधारभूत विद्यालयका ३७ जना गरी दलित र गैरदलित समुदायका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष चुरा बहादुर केसीले चिसोका कारण आर्थिक रूपमा कमजोर, असहाय तथा उत्पीडित समुदायका विद्यार्थीहरूलाई विद्यालय आउन–जान कठिनाइ भइरहेको जानकारी पाएपछि न्यानो कपडा वितरण गरिएको बताउनुभयो। न्यानो कपडाले विद्यार्थीको मनोबल बढ्नुका साथै नियमित रूपमा विद्यालय उपस्थित हुन सहज हुने उहाँको भनाइ थियो ।
वडा अध्यक्ष केसीका अनुसार उक्त विद्यालयहरूमा करिब ९० प्रतिशत विद्यार्थी गरिब, दलित र जनजाति समुदायका छन्। कमजोर आर्थिक अवस्थाका कारण विद्यार्थीहरूलाई उचित लुगा लगाएर विद्यालय आउन समेत समस्या हुने भएकाले सहयोग गरिएको उहाँले स्पष्ट पार्नुभयो
कार्यक्रममा मुक्ति आधारभूत विद्यालयकी प्रधानाध्यापक विष्णुमाया पन्थी आचार्य र भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक हरि भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीको पढाइमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
वडा सदस्यहरू पुष्पा नेपाली, डुकलाल पोखरेल, मीना ज्ञवाली लगायतको उपस्थिति रहेको कार्यक्रम वडा सचिव सीता बिसी पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।




