इन्जिन र चेसिस अभिलेख नमिलेपछि राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो
इटहरी: इन्जिन र चेसिस नम्बर परिवर्तन गरी अवैध रूपमा सञ्चालन भइरहेका पाँच वटा बोलेरो जीपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नियमित चेकजाँचका क्रममा ती सवारी साधन फेला पारेको हो ।
प्रहरीका अनुसार आवश्यक कागजात नपुगेका तथा सवारी नम्बर, इन्जिन नम्बर र चेसिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखसँग नमिलेपछि महेन्द्रा कम्पनीका पाँच वटा बोलेरो जीप नियन्त्रणमा लिइएको हो । ती जीपहरू ताप्लेजुङका भित्री सडक खण्डमा कानूनविपरीत रूपमा सञ्चालन हुँदै आएका थिए ।
नियन्त्रणमा लिइएका सवारी साधन अवैध रहेको पुष्टि भएपछि आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चोरी, अवैध कारोबार नियन्त्रण तथा सुरक्षित सडक निर्माणका लागि सवारी साधनको नम्बर प्लेट, इन्जिन नम्बर, चेसिस नम्बर र कागजातको कडाइका साथ जाँच गर्दै आएको जानकारी दिएको छ । साथै, प्रहरीले सवारी धनीहरूलाई कागजात सुरक्षित राख्न र सवारी पार्किङ गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

