सर्लाही, पुस ९ गते ।
हिन्दु सम्राट नेपालले डिसेम्बर २५ का दिन निजी विद्यालयहरूमा क्रिसमससँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ। संगठनले विद्यार्थीहरूलाई सेन्टाक्लसको पोसाक लगाउन बाध्य पार्ने, क्रिसमस मनाउने नाममा धार्मिक कार्यक्रम सञ्चालन गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको हो ।
संगठनले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन), एन–प्याब्सन, सगरमाथा स्कुल, सेन्ट ग्याब्रियल स्कुललगायत शिक्षण संस्थालाई औपचारिक ज्ञापनपत्र बुझाएको जनाएको छ। हिन्दु सम्राट नेपालका महासचिव राकेश यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विद्यालयहरूलाई शैक्षिक तटस्थता कायम राख्न अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा विद्यालय परिसरभित्र विदेशी धर्मसँग सम्बन्धित प्रचार, प्रतीकात्मक गतिविधि तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेकोप्रति आपत्ति जनाइएको छ। क्रिसमसको नाममा साना विद्यार्थीहरूको मनोविज्ञानमा अन्य धर्मप्रति आकर्षण सिर्जना गर्ने प्रयास भइरहेको भन्दै संगठनले यसलाई सांस्कृतिक हस्तक्षेपको रूपमा व्याख्या गरेको छ ।
संगठनले वैकल्पिक रूपमा डिसेम्बर २५ कै दिन हिन्दु परम्पराअनुसार पर्यावरण, स्वास्थ्य र संस्कारसँग जोडिएको ‘तुलसी पूजन दिवस’ मनाउन विद्यालयहरूलाई आग्रह गरेको छ। यसले विद्यार्थीहरूलाई मौलिक धर्म, संस्कृति र संस्कारप्रति सचेत गराउने विश्वास संगठनले व्यक्त गरेको छ ।

ज्ञापनपत्रमा विद्यालयलाई ‘शिक्षाको मन्दिर’ भन्दै “मन्दिरलाई चर्चमा परिवर्तन नगर्नुहोस्” भन्ने सन्देशसमेत उल्लेख गरिएको छ। निर्देशनको अवज्ञा भएमा मौलिक धर्म–संस्कृति तथा सामाजिक सद्भावको संरक्षणका लागि आवश्यक कानुनी तथा संगठनात्मक कदम चालिने चेतावनी दिइएको छ ।
हिन्दु सम्राट नेपालले विद्यालयहरू राष्ट्रिय पाठ्यक्रम, संस्कार–आधारित शिक्षा र नेपाली मौलिकतामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। संगठनको यस कदमपछि सर्लाहीसहित विभिन्न स्थानमा विषयलाई लिएर बहस सुरु भएको बताइएको छ ।

