ललितपुर, पुस ९ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ । सोमबार जसपा नेपाल केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुबै पक्षले संयुक्त रूपमा संघर्षका कार्यक्रम अघि बढाउने सहमति गरेका हुन् ।
कार्यगत एकता घोषणापत्र मार्फत दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना गर्न संयुक्त संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै स्थानीय तहलाई विकास निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा समेत संघर्ष गर्ने सहमति जनाइएको छ ।

घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो, त्रुटीपूर्ण तथा विभेदकारी रहेको निष्कर्ष निकाल्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यकता अनुसार पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ। विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्र (State–Nation) को अवधारणा स्थापित गर्न संयुक्त प्रयास गर्ने सहमति पनि गरिएको छ ।
मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, साथै मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।
राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने सहमति समेत गरिएको छ।
दुबै पक्षले हाल कार्यगत एकताको आधारमा संयुक्त संघर्षका कार्यक्रम सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार पूर्ण एकतासमेत गर्न सकिने उल्लेख गरेका छन् ।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले कार्यगत एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।





